राष्ट्रिय योजना आयोगको प्रभावकारिता कमजोर हुँदै गयो : पुष्पराज कँडेल

राष्ट्रिय योजना आयोगको प्रभावकारिता कमजोर हुँदै गयो : पुष्पराज कँडेल

काठमाडौँ - नेकपा एमालेका सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको प्रभावकारिता कमजोर हुँदै गएको बताएका छन्।

अर्थ समितिको बैठकमा सोमबार कँडेलले योजना आयोगको गरिमा घट्दै गएको र राज्यका शक्तिहरू अर्थ मन्त्रालयमा मात्र केन्द्रित भएको बताएका हुन्। सांसद कँडेलले राष्ट्रिय योजना आयोगलाई पौराणिक पात्र परशुरामसँग तुलना गर्दै हिजोको शक्ति र सामथ्र्य अहिले बाँकी नरहेको टिप्पणी गरे।

 ‘विगतमा योजना आयोगले अर्थ मन्त्रालयलाई मार्गनिर्देश गर्ने र सोही आधारमा मन्त्रालय चल्ने प्रचलन थियो’, उनले भने, ‘अहिले सबै शक्ति अर्थ मन्त्रालयमा सरेको छ। अर्थ मन्त्रालय, राष्ट्र बैंक र योजना आयोगबीच जुन सन्तुलन हुनुपर्ने हो, त्यो अहिले खस्किएको छ।’

संस्थागत संरचनाका बारेमा टिप्पणी गर्दै कँडेलले तथ्यांक कार्यालयलाई योजना आयोगकै अंगका रूपमा राख्ने तयारी भए पनि ऐन निर्माणका क्रममा प्रधानमन्त्री कार्यालय मातहत पु¥याइएकोमा असन्तुष्टि जनाए। 

नीति अनुसन्धान प्रतिष्ठान र तथ्यांक कार्यालयलाई योजना आयोग मातहत ल्याउनसके मात्र आयोगको गरिमा बढ्ने र अनुसन्धानका कार्य प्रभावकारी हुने उनको तर्क छ । 

राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त गति र अन्योलका बारेमा चर्चा गर्दै उहाँले मध्यपहाडी लोकमार्गको धादिङ खण्डको उदाहरण दिए। बुढीगण्डकी आयोजनाका कारण उक्त खण्डको निर्माण कार्य रोकिएको र ऊर्जा मन्त्रालयको समन्वय अभावमा काम अघि बढ्न नसकेको बताए।

 यस्तै, लुम्बिनी विकास कोषको काम पाँच वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको, काठमाडौं मेट्रो र पूर्व–पश्चिम रेलमार्गको प्रगति न्युन रहेको तथा गल्छी–स्याफ्रुबेसी सडक खण्डको काम ठेकेदारका कारण अलपत्र परेको दाबी गरे। सांसद कँडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा गम्भीर त्रुटि रहेको दाबी गरे।

कँडेल आायोगका पूर्व उपाध्यक्ष समेत हुन्।

खबरपाटी
खबरपाटी