काठमाडौं - इरानले होर्मुज जलडमरू बन्द गरेको घोषणा गर्दै त्यहाँबाट गइरहेको एउटा जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको जनाएको छ।
सेन्टकमका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ र जहाजले यात्रा जारी राख्न नसक्ने अवस्था आएको छ। जहाजका चालकदलका एक सदस्य बेपत्ता रहेको पनि सेन्टकमले जनाएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सामाजिक सञ्जाल एक्समा साझा गर्दै ‘इरानले गलत निर्णय गर्यो, अब त्यसको मूल्य चुकाउँदैछ’ भनेका छन्।
यसअघि आइतबार इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको थियो ।
आईआरजीसीका अनुसार स्वीकृत मार्ग छाडेर अघि बढेको तथा आफ्नो निगरानी प्रणाली बन्द गरेको एउटा जहाजलाई बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको थियो।
चेतावनीस्वरूप गोली प्रहार गरेपछि जहाज रोकिएको इरानको दाबी छ।