मधेस प्रदेश सरकारको बजेटमा देखिएको त्रुटि समाधान गर्न एक कार्यदल गठन

मधेस प्रदेश सरकारको बजेटमा देखिएको त्रुटि समाधान गर्न एक कार्यदल गठन

जनकपुरधाम – मधेस प्रदेश सरकारको बजेटमा देखिएको त्रुटि समाधान गर्न एक कार्यदल गठन गरिएको छ । आइतबार (असार २८) बसेको मधेस प्रदेशसभा बैठकबाट सात सदस्यीय कार्यदल बनाइएको हो ।

कार्यदलले आजैदेखि आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएको समस्या र त्रुटि समाधान गर्न काम सुरु गर्नेछ । कार्यदलमा प्रमुख प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रदेशसभा सदस्य उपेन्द्र यादव, जनमत पार्टीका सञ्जयकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरिताकुमारी ठाकुर छन् ।

सत्तापक्षका तर्फबाट नेकपा (एमाले)का हरिनारायण महतो, नेपाली कांग्रेसका जंगीलाल राय, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमोदकुमार यादव र नेपाल संघीय समाजवादी पार्टीका विमला अन्सारी तरुन्नम छन् ।

मधेस सरकारले ल्याएको बजेट असंवैधानिक रहेको र कार्यान्वय हुन नसक्ने भन्दै प्रतिपक्षीले प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्दै आएका थिए ।

कार्यदलको घोषणासँगै बैठक यही असार ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगन गरिएको छ ।

 

खबरपाटी
खबरपाटी