नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सचिवमा डेरी एसोसिएसनका प्रेमबहादुर डिसी निर्वाचित

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सचिवमा डेरी एसोसिएसनका प्रेमबहादुर डिसी निर्वाचित

काठमाडौँ - नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६ औँ राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा नेपाल डेरी एसोसिएसन कर्णाली प्रदेशका अध्यक्ष प्रेमबहादुर डिसी निर्वाचित भएका छन्। महासङ्घको सचिव पदमा निर्वाचित भएपछि उद्योगी–व्यवसायी, डेरी क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले डिसीलाई बधाई तथा शुभकामना दिएका छन्।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले संयुक्त शुभकामना सन्देश जारी गर्दै डिसीको विजयले घरेलु तथा साना उद्योग क्षेत्रलाई थप सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले डि.सीको अनुभव, इमानदार नेतृत्व, संगठनप्रतिको समर्पण र व्यवसायिक दृष्टिकोणले महासङ्घको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

शुभकामना सन्देशमा भनिएको छ, “नेपाल डेरी एसोसिएसन कर्णाली प्रदेशका अध्यक्ष प्रेमबहादुर डिसीज्यू सचिव पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको नेतृत्वले महासङ्घलाई अझ प्रभावकारी, सुदृढ र उपलब्धिमूलक दिशामा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।”

प्रेमबहादुर डिसीले घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, उत्पादनमूलक उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास र संगठनात्मक एकता मजबुत बनाउन आफू प्रतिबद्ध रहने बताएका छन्। उनले महासङ्घलाई उद्योगी–व्यवसायीहरूको साझा आवाजका रूपमा अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाल डेरी एसोसिएसन परिवारले डिसीको उज्ज्वल, सफल र उपलब्धिमूलक कार्यकालको कामना गर्दै उनको नेतृत्वमा घरेलु तथा साना उद्योग क्षेत्रले नयाँ ऊर्जा र सकारात्मक दिशा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

खबरपाटी
खबरपाटी