काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ।
टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि ५–० गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ।
यो जितसँगै अहिलेसम्म सम्पन्न खेलहरुमा तेस्रो स्थानमा रहने टोलीहरुको सूचीमा सेनोगल पाँचौँ स्थानमा उक्लिएको छ। तर नकआउट चरणमा सुरक्षित हुन उसलाई अन्य टोलीको खेलको नतिजा कुर्नुपर्नेछ।
सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक–एक गोल गरेका थिए। खेलको चौथो मिनेटमै सेनेगलका हबिबले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी ४ गोल दोस्रो हाफमा भएका थिए।
खेलको ५६औँ मिनेटमा इस्माइलाले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाए। यस्तै ५९औँ र ७१औँ मिनेटमा पापेले गोल गरेपछि ४–१ को अग्रता बनाएको सेनेगल ८२औँ मिनेटमा इलमानको गोलसँगै ५–० ले विजयी भयो। खेलको १३ औँ मिनेटमा रेबिन सुलाकाले रातो कार्ड खाएर १० जनामा सीमित भएको इराकले भने कुनै गोल गर्न सकेन।
यो जितसँगै समूहका तीन खेलबाट ३ अंक जोडेको सेनेगल समूह आई को तेस्रो स्थानमा रहेको छ। तीनवटै खेलमा हार बेहोरेको इराक अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यो समूहबाट फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्।