आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस

आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । 

विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ । यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्त्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन् । विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । 

जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ । तीमध्ये एक तिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ । 

खबरपाटी
खबरपाटी