अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा होर्मुज जलमार्ग बन्दको घोषणा

काठमाडौं  – अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेनाले इरानका ‘प्रमुख केन्द्रहरू’मा बमबारी गरिरहेको बताए। सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नुपरेको उनको भनाइ छ। बुधबार इरानले अमेरिकी ‘अपाचे’ हेलिकप्टर खसालेपछि दुई देशबिचको तनावले उग्र रूप लिएको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले हर्मोज जलमार्ग क्षेत्रमा दुई वटा जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानले सुरक्षा सङ्कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने सो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधानका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ।

यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दाबीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवतजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दाबी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित बन्दा यहाँको व्यापारिक चहलपहल साविकको तुलनामा १५ प्रतिशतमा खुम्चिएको छ। 

जलमार्ग बन्द भएको समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले बढेर प्रतिब्यारेल ९५ डलर माथि पुगेको छ।

अमेरिकाको यो पछिल्लो आक्रमण इरानको दक्षिणी क्षेत्रमा पर्ने मिनाब, सिरिक, बन्दर अब्बास र केश्म टापु नजिकका सैन्य तथा निगरानी केन्द्रहरूमा केन्द्रित रहेको छ। अमेरिकी हमलाको लगत्तै खाडी क्षेत्रमा रहेको बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन्। 

इरानको आईआरजीसीले अमेरिकी आक्रमणको बदलास्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूसहित कुल १८ वटा महत्त्वपूर्ण लक्ष्यहरूमा प्रतिशोधात्मक आक्रमण गरेको दाबी गरेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष अधिकारीहरूले आफूलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेको र यो बमबारी छिट्टै रोकिने बताएका छन्। तर, उनले यदि भोलि रातिसम्ममा कुनै ठोस समझदारी पत्रमा हस्ताक्षर नभए आगामी राति फेरि बमबारी शुरू हुने चेतावनी दिए। ट्रम्पले इरानसँगको यो युद्धविरामलाई विश्व इतिहासकै सबैभन्दा बढी उल्लङ्घन गरिएको युद्धविरामको संज्ञा दिए।

राष्ट्रपति ट्रम्पले इरानले सम्झौताका लागि धेरै लामो समय लगाएकाले अब त्यसको मूल्य चुकाउनुपर्ने र युद्ध रोक्न इरानले केवल कागजमा हस्ताक्षर गरे पुग्ने दाबी गरेका छन्। अर्कोतर्फ, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी धम्कीहरू देशको कमजोरीको प्रतीक भएको बताउँदै इरान कुनै पनि दबाब वा धम्कीसामु नझुक्ने र दृढतापूर्वक उभिने स्पष्ट पारे।

खबरपाटी
खबरपाटी