सनातन राज्यको वकालत गरेपछि सामाजिक सञ्जालमा धम्की आएको राप्रपा सांसद ओलीको भनाइ

सनातन राज्यको वकालत गरेपछि सामाजिक सञ्जालमा धम्की आएको राप्रपा सांसद ओलीको भनाइ

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई मार्ने धम्की आएको बताएकी छिन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण कुनै धर्मावलम्बीले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की दिएको आरोप लगाइन्।

उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीको बसोवास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय सदनमा उठाउँदा योजनाबद्ध रूपमा धम्की दिइएको आरोप लगाइन्।

ओलीले भनिन्, ‘९० प्रतिशत सनातनी बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरी मलाई मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ। के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?’

सांसद ओलीले आफूले व्यक्तिगत रूपमा धम्की सहन सक्ने भए पनि यसलाई केवल आफूविरुद्धको आक्रमण मात्र नभई सम्पूर्ण सनातनी समुदायमाथिको प्रहारका रूपमा लिनुपर्ने बताइन्। 

खबरपाटी
खबरपाटी