काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को २४औँ वार्षिक साधारणसभाअन्तर्गत हुने नयाँ नेतृत्व चयन प्रक्रियामा दीपक पौड्यालले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
जलविद्युत् क्षेत्रका व्यवसायी तथा व्यवस्थापकका रूपमा परिचित पौड्यालसँग एक दशकभन्दा बढी समयको अनुभव रहेको बताइएको छ। हाल उनी MV Dugar Group अन्तर्गत जलविद्युत् क्षेत्रसँग आबद्ध रहेका छन्। साथै, सानीभेरी जलविद्युत् आयोजनाको प्रवर्द्धन तथा विकासमा समेत उनको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ।
त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका पौड्यालले व्यवस्थापन विषयमा एमबीए समेत गरेका छन्। ऊर्जा क्षेत्रको विकास, लगानी विस्तार, बजार प्रवर्द्धन, सदस्यबीच समन्वय तथा सहकार्य अभिवृद्धि लगायतका एजेन्डासहित उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उनले ऊर्जा क्षेत्रको दिगो विकास, वातावरण संरक्षण, सदस्य हितको प्रवर्द्धन तथा संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
IPPAN को आगामी नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका बेला उपाध्यक्ष पदमा दीपक पौड्यालको उम्मेदवारीले ऊर्जा क्षेत्रभित्र थप चर्चा पाएको छ।