अधिक तरलताको प्रभाव : बैंकहरूको आधार दर निरन्तर ओरालो लाग्दै

अधिक तरलताको प्रभाव : बैंकहरूको आधार दर निरन्तर ओरालो लाग्दै

काठमाडौं - बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताको प्रभावका कारण वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएको छ। यही क्रम जेठ महिनामा पनि जारी रहँदा २० वाणिज्य बैंकहरूको औसत आधार दर वैशाख महिनाको तुलनामा ०.०८ प्रतिशत बिन्दुले घटेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा निक्षेप वृद्धि भए पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै गएको छ।

यसका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्, जसको प्रत्यक्ष असर आधार दरमा परेको हो। आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएकाले समग्र ऋण लागत सस्तो हुँदै गएको छ।

 

जेठ महिनाका लागि वाणिज्य बैंकहरूको औसत आधार दर ५.०४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो महिनाको ५.१२ प्रतिशतभन्दा कम हो। यस अवधिमा ७ वटा बैंकको आधार दर ५ प्रतिशतभन्दा तल कायम भएको छ।

सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ४.२४ प्रतिशत रहेको छ। त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.२९ प्रतिशत, एभरेष्ट बैंक ४.४९ प्रतिशत, नबिल बैंक ४.५८ प्रतिशत, नेपाल बैंक ४.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.८० प्रतिशत र ग्लोबल आइएमई बैंक ४.८९ प्रतिशतमा रहेका छन्।

त्यस्तै, एनआईसी एसिया बैंकको आधार दर ६.१७ प्रतिशतसहित सबैभन्दा उच्च रहेको छ।

 

खबरपाटी
खबरपाटी