झापा - नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले झापाका उमेश खातीलाई आर्थिक सहयोग प्रदान गरेको छ । झापाको कन्काई नगरपालिका–५ निवासी २६ वर्षीय उमेश खाती गम्भीर रोगका कारण दुवै हातखुट्टा गुमाउन बाध्य भएका हुन् ।
उनको स्वास्थ्य अवस्था तथा पारिवारिक समस्यालाई मध्यनजर गर्दै नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले डेरी उद्योगीहरूबीच समन्वय गरी ६५ हजार ६ सय रुपैयाँ संकलन गरेर सहयोग हस्तान्तरण गरेको हो ।
विश्व दुग्ध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रको निर्देशनअनुसार देशभर साताव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन् । सोही अभियानअन्तर्गत कोशी प्रदेश समितिले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै उक्त मानवीय सहयोग गरेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले मानवता, सहयोग तथा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको यस कार्यले डेरी क्षेत्र केवल व्यवसायमा मात्र सीमित नभई सामाजिक सेवामा समेत संवेदनशील र जिम्मेवार रहेको सन्देश दिएको बताए ।
यस अभियानमा विशेष पहल तथा सक्रिय भूमिका निर्वाह गर्ने नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा खड्का, केन्द्रीय महासचिव हेमचन्द्र खनाल, प्रदेश कोषाध्यक्ष सुवास गुरागाईं, झापा जिल्ला सचिव प्रकाश भण्डारी, कोषाध्यक्ष कमल पौडेललगायत प्रदेश तथा केन्द्रीय पदाधिकारीहरूलाई नेपाल डेरी एसोसिएसन केन्द्रीय समितिले धन्यवाद व्यक्त गरेको छ ।
साथै, सहयोग अभियानमा सहभागी सम्पूर्ण डेरी उद्योगी तथा सहयोगीहरूप्रति समेत संस्थाले आभार प्रकट गरेको जनाएको छ ।