रुसी तेल किन्न पाउने सीमा एक महिना थपिएपछि भारतलाई राहत

रुसी तेल किन्न पाउने सीमा एक महिना थपिएपछि भारतलाई राहत

अमेरिकाले रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेपछि त्यसबाट भारतलाई फाइदा पुग्ने भएको छ । इरानसँगको युद्धका कारण विश्वव्यापी ऊर्जाको मूल्यमा तीव्र वृद्धि भइरहेको समयमा भएको यो निर्णयले भारतमा आपुर्ती नियमितसँगै मुल्य नियन्त्रमा समेत सहज हुने देखिएको हो ।

रुसी तेल खरिद गर्न दिइएको छुट दुई दिन अघि सकिएकोमा ट्रम्प प्रशासनले इरान, उत्तर कोरिया र क्युबा बाहेक सबै देशलाई थप एक महिना छुट दिएको हो । होर्मुज जलमार्गमा अवरोध हुँदा अहिलेसम्म भारतले एलपीजी र एलएनजीमा मात्रै समस्या झेल्नुपरेको छ । यसको कारण रुसबाट तेल आउनु हो ।

परम्परागत रूपमा भारतले खाडी देशहरूबाट तेल आयात गर्दै आएको थियो । तर, युक्रेन युद्ध शुरू भएपछि धेरै छुटमा रुसी तेल खरिद गर्न थालेको हो । अमेरिकी ट्यारिफका कारण खरिद प्रक्रिया प्रभावित भएपछि भारतले पुनः खाडी देशहरूबाट हुने आयात बढाएकोमा होर्मुजसंकटले समस्या ल्याएको हो । फेरी रुसी तेल आउने भए पनि भारतमा तेलको अभाव हुने छैन । भारतले अहिले ४१ वटा देशबाट तेल आयात गरिरहेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथिको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने हरेक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख गर्नुभएको छ । 

खबरपाटी
खबरपाटी