काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि भोलिदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरू गर्ने भएको छ ।
मानवीय तथा गाडी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न यो कार्यक्रम शुरू गरेकोे महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्यजस्ता क्रियाकलापहरू सञ्चालन हुनेछन् । भोलिदेखि हरेक शनिवार असन क्षेत्रमा गाडी प्रवेशमा रोक लगाइनेछ । यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदूषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ ।
त्यस्तै भोलिदेखि नै निःशुल्क वाटर एटीएम मेशिन शुभारम्भ गरिने पनि महानगरपालिकाका प्रवक्ता मानन्धले जानकारी दिनुभयो । महानगरभित्र झन्डै २ करोड ६० लाख रुपैयाँको लागतमा ८ वटा वाटर एटीएम बुथ निर्माण भएका छन् ।
मौलिक शैलीमा निर्माण गरिएका बुथहरूमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ । बुथहरू खुलामञ्च, राष्ट्रिय सभागृह, दरबार हाई स्कूल परिसर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे ९हाँडीगाउँ०, वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरमा जडान गरिएको प्रवक्ता मानन्धरले बताउनुभयो ।