काठमाडौं - चालु आवको फागुन महिनासम्ममा खुद रु.३३,२६७ अर्ब ७५ करोड बराबरको तरलता प्रशोचन भएको छ ।
समिक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१,९४५ अर्ब ४० करोड, स्थायी निक्षेप सुविधामार्फत रु.३१,१३४ अर्ब ८५ करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु.२०० अर्ब गरी कुल रु.३३,२८० अर्ब २५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत रु.१२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद रु.३३,२६७ अर्ब ७५ करोड बराबरको तरलता प्रशोचन भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु.१६,००१ अर्ब २५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ६५ करोड खुद खरिद गरी रु.६६५ अर्ब १० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब २० करोड खुद खरिद गरी रु.४३३ अर्ब ७७ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ६२ करोड बिक्री गरी रु.३७४ अर्ब ३५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ५४ करोड बिक्री गरी रु.३४५ अर्ब ४८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।