नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

काठमाडौँ - नेपाल पुलिस क्लबले, जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ। 

राशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि पुलिस त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो संस्करण च्याम्पियन बनेको हो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आर्मीले १ सय ७८ रन, नौ विकेटको स्थितिबाट दिनको सुरुआत गरेको थियो। 

बिहीबार आर्मीले थप ४८ रन जोड्यो। आकाश चन्द र घाइते अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले दशौं विकेटमा कुल ४९ रन जोडे। 

सागर ढकालले आकाशलाई आउट गरी यो साझेदारी तोडेका थिए। सागरले १६ दशमलव २ ओभरमा २ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए। करण केसी र ललित राजवंशीले ३९३ विकेट लिए।

पुलिसले २ सय २७ रनको लक्ष्य चिया सत्रपछि पूरा गर्‍यो। पुलिसले ५७ ओभर भित्र ६ विकेट गुमाएर २ सय ३० रन बनाएको हो। 

अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि राशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरे। कुशलले ५१ र राशिदले ८१ रन बनाए। कुशलले ६४ बल खेली ५ चौका र रशिदले १ सय २८ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे।

कप्तान आरिफ शेख २१ बल मा समान १ चौका र छक्का प्रहार गर्दै १४ र गुलशन झा १ रनमा आउट भए। आर्मीका पवन कार्कीले २ र शाहव आलमले १ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए। इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो। करणले अविजित ७२ रन बनाएपछि पुलिसको पहिलो इनिङ्सको स्कोर पनि २ सय २१ रनमै रोकिएको थियो।

गत वर्ष वीरगञ्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी प्लेयर अफ द सिरिज भए। स्पिनर ललित लगातार दोस्रो सिजन जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। 

ललितले लिग चरणमा २० सहित कुल २६ विकेट लिए। उत्कृष्ट बलरको अवार्ड पनि ललितको नाममा रह्यो। 

ललितले फाइनलमा आर्मीविरुद्ध ६ विकेट लिएपछि पुलिसले बिना दबाब उपाधि जितेको हो। अब आगामी चैत ८ गते बाट सुरु हुने प्रधानमन्त्री कपमा पनि यही लयलाई निरन्तरता दिने प्रयासमा रहने ललितले बताएका छन्।

यस्तै बागमती प्रदेशका इशान पान्डे उत्कृष्ट ब्याटर बने। उनले ३ सय ३१ रन जोडेका थिए।

खबरपाटी
खबरपाटी