काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डले ‘नेपाल फेस्टिभल २०२६’ गर्ने भएको छ।
न्युजिल्यान्डमा नेपाली संस्कृति प्रवद्र्धन गर्न आगामी अप्रिल १८ मा क्राइस्ट चर्चमा बृहत् उत्सव गर्ने तयारी भएको एनआरएनए न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले जानकारी दिए।
उनका अनुसार एनआरएनए न्युजिल्यान्डको अगुवाइमा विभिन्न स्थानीय संघ–संस्थाहरू र क्लबहरूको सहकार्यमा महोत्सव हुनेछ।
बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रमले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अर्यालले बताए। नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परिकारहरूले भरिएको महोत्सव न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा ठूलो जमघट बन्ने अपेक्षा पनि गरिएको छ।
फेस्टिभलमा लाईभ संगीत, परम्परागत तथा आधुनिक नाचगानका साथै विविध कार्यक्रमहरु हुनेछन्। उक्त कार्यक्रममा चर्चित लोक गायक पशुपति शर्मा अतिथि कलाकारका रुपमा हुनेछन्।