काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझाव माननीय मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष औपचारिक रूपमा पेश गरेको छ।
नाइमाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त मापदण्डमा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको छ। मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएको र ती शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
तर हाल बागमती प्रदेश मा व्यवहारमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था देखिएको भन्दै नाइमाले ध्यानाकर्षण गराएको छ। राष्ट्रिय मापदण्डअनुसार साधारण, विशेष र विशिष्ट वर्गभित्र पर्ने तथा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै सिडान बाहेकका अन्य सवारी साधनलाई अनुमति नदिनु उपयुक्त आधारविहीन देखिएको नाइमाको भनाइ छ।
नाइमाले सिडान बाहेकका उपयोगी, यात्रुमैत्री तथा विभिन्न आवश्यकताअनुकूल सवारी साधनहरूलाई ट्याक्सी सेवामा समावेश गरिए सेवा प्रदायकलाई आवश्यकताअनुसार लचकता प्राप्त हुने, यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता–मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने उल्लेख गरेको छ।
विज्ञप्तिमा विश्वका विभिन्न देशहरूमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा, विशेषगरी बागमती प्रदेशमा, विकल्पहरू सीमित देखिएको उल्लेख गरिएको छ। केही अन्य सहरहरूमा फरक वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति दिइएको भए पनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको धारणा छ।
यस सन्दर्भमा, राष्ट्रिय मापदण्डमा उल्लिखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरणहरू पूरा गर्ने साधारण, विशेष र विशिष्ट वर्गका सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता तथा सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।
मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै नाइमाले आफ्ना सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय तथा यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।