काठमाडौं इङलिस स्कुलमा वार्षिक खेलकुद सप्ताह सम्पन्न, विजेतालाई पुरस्कार वितरण

काठमाडौं इङलिस स्कुलमा वार्षिक खेलकुद सप्ताह सम्पन्न, विजेतालाई पुरस्कार वितरण

काठमाडौं – काठमाडौं इङलिस स्कुलमा माघ २५ गतेदेखि सञ्चालन गरेको वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको छ। पाँच दिनसम्म चलेको उक्त खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

खेलकुद सप्ताह अन्तर्गत फुटबल, डोरी तान,दौड, बास्केटबल, लङ्जम्प, हाईजम्प लगायत दर्जनौँ खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

पुरस्कार वितरण कार्यक्रममा विद्यालयका अध्यक्ष ईश्वर पुडासैनी, प्रधानाध्यापक दिनेश खतिवडा, सल्लाहकार प्रल्हाद दाहाल, एकाडेमिक हेड मेघराज बजगाईं, सहायक प्र.अ.प्रविन भण्डारी तथा शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी एवं अभिभावकहरूको समेत सहभागिता देखिएको थियो।

प्रधानाध्यापक दिनेश खतिवडाले विद्यालयले प्रत्येक वर्ष यस्ता अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै खेलकुदले विद्यार्थीहरूको शारीरिक स्फूर्ति मात्र नभई मानसिक सन्तुलन, नेतृत्व क्षमता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालयले आन्तरिक प्रतिस्पर्धासँगै बाह्य प्रतियोगिताहरूमा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको र विभिन्न प्रतियोगितामा सफलता हासिल गरेको निर्देशक मेघराज बजगाईंले जानकारी दिनुभयो।
सल्लाहकार प्रल्हाद दाहालले बालबालिकाको चौतर्फी विकासलाई प्राथमिकतामा राखेर विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उपत्यकामा उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल भएको धारणा राख्नुभयो। विद्यालयले शिक्षा र शैक्षिक गतिविधिमार्फत स्थानीय समुदायमा सकारात्मक प्रभाव छोडेको उहाँको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष ईश्वर पुडासैनीले विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै खेलकुद सप्ताह सफल बनाउन सहयोग गर्ने शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समयसापेक्ष, गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न विद्यालय सधैं प्रतिबद्ध रहने प्रतिबद्धता जनाउनुभयो।

खबरपाटी
खबरपाटी