काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन् । उनले क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म उक्त पुल सञ्चालनमा नआउने चेतावनी दिएका हुन् ।
उनले क्यानाडासँगको व्यापारिक सन्तुलनका विषयमा सहमति नजुटेसम्म उक्त पुल सञ्चालनमा ल्याउने विषयमा पुनर्विचार आवश्यक रहेको उल्लेख गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “ओन्टारियो (क्यानडा) र मिसिगन (अमेरिका) जोड्ने गाँर्डी होवे अन्तर्राष्ट्रिय पुल जबसम्म क्यानडाले अमेरिकासँग ‘निष्पक्ष व्यवहार ’नगर्ने अवस्था अन्त्य हुँदैन तबसम्म खुल्दैन ।”
राष्ट्रपति ट्रम्पका अनुसार पुलको स्वामित्व र यससँग सम्बन्धित विषयहरूमा अमेरिकाको हित सुनिश्चित हुनु आवश्यक छ । अमेरिकाले प्रदान गरेका सहुलियतहरूको उचित मूल्यांकन नभएसम्म पुल सञ्चालनबारे निर्णय गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।
क्यानाडाको पहलमा निर्माण गरिएको उक्त पुलले दुई देशबीचको व्यापार र यातायातलाई सहज बनाउने अपेक्षा गरिएको थियो । सन् २०१८ मा निर्माण सुरु गरिएको उक्त पुल आवश्यक परीक्षण प्रक्रिया पूरा भएपछि सन् २०२६ को सुरुआतमै सञ्चालनमा ल्याउने योजना थियो ।
तर पछिल्लो अभिव्यक्तिपछि पुल सञ्चालनको विषयमा केही अन्योल देखिएको छ । यस घटनाले अमेरिका र क्यानाडाबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धमा थप छलफल र समन्वयको आवश्यकता देखाएको विश्लेषकहरूको धारणा छ ।