अमेरिकी सेनाले डुंगामा गरेको आक्रमणमा दुईको मृत्यु

अमेरिकी सेनाले डुंगामा गरेको आक्रमणमा दुईको मृत्यु

पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आशंका गरिएको डुंगामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना जीवितै फेला परेको बताइएको छ । अमेरिकी दक्षिणी कमान्ड (साउथकम)ले सोमबार गरेको उक्त कारबाहीलाई घातक सैन्य प्रहार भनेको छ ।

साउथकमका कमान्डर जनरल फ्रान्सिस एल. डोनोभानको निर्देशनमा फेब्रुअरी ९ सो डुंगामाथि आक्रमण गरिएको बताइएको छ । कमान्डले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै जीवित व्यक्ति खोजी तथा उद्धारका लागि अमेरिकी कोस्ट गार्डलाई सूचित गरिएको जनाएको छ ।

इक्वेडरको समुद्री उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियानको नेतृत्व गरिरहेको र अमेरिकी पक्षले प्राविधिक सहयोग उपलब्ध गराइरहेको सीएनएनसँग कुरा गर्दै अमेरिकी कोस्ट गार्डका प्रवक्ताले बताए । ट्रम्प प्रशासनले सुरु गरेको ‘अपरेसन सदर्न स्पियर’ अन्तर्गत हालसम्म सन्दिग्ध लागुऔषध तस्करीका डुंगामाथि भएका आक्रमणमा कम्तीमा १२१ जनाको मृत्यु भइसकेको छ ।

प्रशासनले मारिएका व्यक्तिहरूलाई गैरकानुनी लडाकु भनेको छ र अदालतको समीक्षा बिना नै घातक सैन्य कारबाही गर्न पाउने अधिकार आफूहरूसँग रहेको दाबी गरेको छ, जसका आधारमा न्याय विभागको गोप्य प्रतिवेदन रहेको बताइएको छ ।

यस वर्ष सार्वजनिक रूपमा पुष्टि भएको यो तेस्रो आक्रमण हो। जनवरीमा भएको यस्तै आक्रमणमा दुई जनाको मृत्यु र एक जनाको जीवितै उद्धार भएको थियो ।

यद्यपि, अमेरिकी प्रशासनले अहिलेसम्म मारिएका सबै व्यक्ति लागुऔषध कार्टेलसँग जोडिएका थिए भन्ने स्पष्ट प्रमाण सार्वजनिक गरेको छैन । कतिपय डुंगामा लागुऔषध भेटिएको पनि पुष्टि गरिएको छैन । सेप्टेम्बरदेखि सुरु भएको यो अभियानको वैधानिकतामाथि अमेरिकी कांग्रेसमा गम्भीर प्रश्न उठिरहेको छ । 

खबरपाटी
खबरपाटी