आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हामीले ‘फागुन २१ निर्वाचन: युवासँग’ शीर्षकमा युवा अभियन्ता हरिष गिरीसँग छोटो कुराकानी गरेका छौँ। समाज परिवर्तनका लागि निरन्तर आवाज उठाउँदै आएका गिरीले मतदानको महत्व, युवाको सोच, राजनीति र भविष्यको नेपालबारे आफ्ना धारणा राख्नुभएको छ।
भोट हाल्नु अधिकार हो कि कर्तव्य ?
भोट हाल्न पाउनु अधिकार र कर्तव्य दुवै हो। नागरिकले आफ्नो आवाज संसदसम्म पुर्याउनु अधिकार हो भने देशको भविष्य सुरक्षित गर्नु कर्तव्य हो। देशको राष्ट्रियता र सार्वभौमसत्ता सही प्रतिनिधि छनोटसँग जोडिएको हुन्छ। यदि गलत प्रतिनिधि छानियो भने देश समृद्धिको होइन, अस्थिरताको बाटोमा जान सक्छ। त्यसैले सही व्यक्ति छान्नु हामी सबैको जिम्मेवारी हो।
“मेरो एउटा भोटले के फरक पार्छ र?” भन्ने सोच युवामा कति छ ?
आजकाल सचेत युवामाझ पनि यस्तो सोच देखिन्छ, विशेषगरी नयाँ पुस्तामा। तर वास्तविकता त्यस्तो होइन। मत हाल्नुपर्छ र आफ्नो मतको सही सदुपयोग गर्नुपर्छ। गाउँघरमा भनिन्छ नि— मत र छोरी सोचविचार गरेर दिनुपर्छ। त्यसैले एउटै मतको महत्व पनि अत्यन्त ठूलो हुन्छ।
राजनीति युवाका लागि फोहोर खेल हो भन्ने धारणा किन बलियो छ ?
राजनीति फोहोर खेल भएकाले होइन, देशमा अपेक्षित परिवर्तन नदेखिनु र पटक–पटक एउटै व्यक्तिले सत्ता सम्हाल्नुका कारण युवामा निराशा छाएको हो। फोहोर सफा नगरी सफा हुँदैन—त्यसैले फोहोर सफा गर्ने जिम्मा पनि हामी युवाकै हो। जेन्जीको सक्रियतासँगै अबको निर्वाचनमा पक्कै सुधार देखिन्छ भन्ने विश्वास छ।युवा नेता आए मात्रै परिवर्तन हुन्छ कि सोच परिवर्तन चाहिन्छ ?
यहाँ उमेरभन्दा सोच महत्वपूर्ण हो। युवा भए पनि भिजन र योजना छैन भने के परिवर्तन हुन्छ र? उदाहरणका लागि मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ९२ वर्षको उमेरमा देशलाई कहाँ पुर्याए भन्ने सबैलाई थाहा छ। त्यसैले उमेर होइन, अनुभव र स्पष्ट भिजन नै निर्णायक कुरा हो।
रोजगारी नहुँदा चुनावप्रति रिस उठ्छ कि आशा जाग्छ ?
नागरिकमा एक किसिमको निराशा छ। रिस भन्ने कि थकान भन्ने। तर पनि आशा गर्न छाड्नु हुँदैन। राम्रो होला भन्ने अपेक्षा अझै बाँकी छ।
सरकारी जागिर, प्राइभेट सेक्टर कि आफ्नै व्यवसाय—युवाको प्राथमिकता के छ ?
अधिकांश युवाहरु लोकसेवातर्फ आकर्षित देखिन्छन्। पढेलेखेका युवाको पहिलो रोजाइ अझै पनि सरकारी जागिर नै हो। प्राइभेट सेक्टरमा पनि सम्भावना छन् तर नेपालमा व्यवसायलाई प्राथमिकता दिने युवाको संख्या कम छ। सरकारले सहुलियत, बजार व्यवस्थापन र प्रोत्साहन नदिँदा युवाहरु लगानीभन्दा विदेश रोज्न बाध्य भएका छन्।
“भोट हालेर के गर्नु, अन्त्यमा विदेशै जानुपर्छ” भन्ने सोचबारे के भन्नुहुन्छ ?
यो अत्यन्तै दुखद अवस्था हो। विदेशिएका युवाले भोटलाई प्राथमिकता नदिनु र चुनावको समयमा नै विदेशिनु परम्परा जस्तै बनेको छ। विदेश गएर ‘देशमा केही भएन’ भन्ने गुनासो त गर्छन्, तर भोटलाई कर्तव्यका रूपमा लिएको देखिँदैन।
नेपालमै राम्रो अवसर पाइयो भने विदेश जाने योजना रोकिन्छ ?
युवा विदेशिनुको मुख्य कारण आर्थिक असुरक्षा हो। शिक्षा र स्वास्थ्यमा राज्यले वास्तविक रूपमा निःशुल्क व्यवस्था गरिदिने हो भने धेरै युवा नेपालमै बस्न तयार हुन्छन्। यसका लागि सरकारले स्पष्ट ग्यारेन्टी दिनुपर्छ।
चुनावको बेला मात्र देखिने नेताहरूलाई युवा कसरी हेर्छन् ?
यस्ता नेताहरूलाई युवापुस्ताले अवसरवादी र गैर–उत्तरदायी रूपमा हेर्छ। उनीहरू देश र नागरिकभन्दा आफ्नो स्वार्थका लागि मात्रै सक्रिय हुन्छन्। हामी यस्ता नेतालाई ‘टुरिस्ट नेता’ भन्न रुचाउँछौँ।टिकटक वा फेसबुकमा भाइरल हुने नेताले भोट जित्न सजिलो छ ?
सोसल मिडिया लोकप्रियताको माध्यम हो, तर भाइरल हुँदैमा जित सुनिश्चित हुँदैन। कतिपय नेताहरू काम गरेर पनि बाहिर आएका छैनन्। देश चलाउन भिजन चाहिन्छ, भाइरल कन्टेन्ट मात्र होइन।
युवाले सत्य जाँच गर्छन् कि चलेको कुरा नै पत्याउँछन् ?
अधिकांश युवाहरु अझै पनि लहैलहैमा लाग्ने गरेको देखिन्छ। सत्य–तथ्य नबुझी हिँड्दा दुर्घटना निम्तिन सक्छ। परिवर्तन चाहने युवाले तथ्य जाँच गर्नु अनिवार्य छ।
सिस्टम खराब कि मान्छे ?
दुवै खराब छन्। तर सुधारको सुरुवात सिस्टमबाट हुनुपर्छ। सिस्टम ठीक भयो भने व्यक्ति पनि अनुशासनमा आउँछ।सरकारले युवाका लागि बनाउने नीति कागजमै सीमित छन् ?
हो। नीति व्यवहारमा लागू नहुँदा युवाहरु विदेशिएका छन्। औपचारिकताका लागि कार्यक्रम ल्याइए पनि तदारुकता छैन। दोहोरो कर प्रणाली यथावत छ, गरिखाने वातावरण छैन।
युवतीहरूको राजनीतिक सहभागिता किन कम छ ?
सामाजिक दबाब, पारिवारिक जिम्मेवारी र अवसरको कमी मुख्य कारण हुन्। परिवर्तन भए पनि महिलाहरू अझै खुलेर अगाडि आउन सकेका छैनन्।
यो निर्वाचनपछि ५ वर्षमा नेपाल कस्तो देख्न चाहनुहुन्छ ?
कुनै पनि युवा बाध्यताले विदेशिनु नपरोस्। रोजगारी र उद्योग फस्टाओस्। चुनेर पठाएका नेता जवाफदेही बनून्। युवाहरु निर्णय तहमा पुगून्। अस्थिरताको अन्त्य होस् र स्थायित्व स्थापित होस्। यति भयो भने नेपाली जनताले राहतको सास फेर्न पाउँछन्।