चुनावी हुरी : तर एजेन्डा उही पुरानो नेपाललाई चाहिएको परिवर्तन के हो ?

“पुराना हटाउने मात्र परिवर्तन होइन, नेपाल बनाउने योजना नै असली परिवर्तन हो अब जनताले नेता होइन, दृष्टि चुन्नुपर्छ।”

चुनावी हुरी : तर एजेन्डा उही पुरानो नेपाललाई चाहिएको परिवर्तन के हो ?

आस्था शर्मा । काठमाडौं । देशभर चुनाव प्रचारप्रसार तीव्र बनेको छ। गाउँदेखि शहरसम्म माइक बजिरहेको छ, नाराहरू गुञ्जिरहेका छन्, र दलहरू फेरि एकपटक “परिवर्तन”को सपना बेचिरहेका छन्। तर प्रश्न एउटै छ परिवर्तन वास्तवमै के हो ?

आजको चुनावी मैदान दुई धारमा बाँडिएको देखिन्छ।

एकातिर पुराना दलहरू छन्, जो दशकौँदेखि सत्ता वरिपरि घुमिरहेका छन्। अर्कोतिर नयाँ दलहरू छन्, जो पुरानालाई विस्थापित गर्ने नारा लिएर आएका छन्।

तर जनता भित्रभित्रै सोधिरहेका छन्, पुरानाको एजेन्डा पुरानै छ, नयाँको एजेन्डा पनि किन नयाँ देखिँदैन ?

पुराना दल, “अनुभव”को नाममा उही भाषणपुराना दलहरू फेरि उही कुरा दोहोर्‍याइरहेका छन् :

  • विकास गर्छौँ
  • रोजगारी दिन्छौँ
  • स्थायित्व ल्याउँछौँ
  • संविधान कार्यान्वयन गर्छौँ

तर जनता जान्दछन् यी वाचा धेरै पटक सुनेका छन्। समस्या यही हो एजेन्डा होइन, कार्यान्वयन हराएको छ। आजको नेपालमा समस्या योजना नभएको होइन, समस्या इच्छाशक्ति र इमान्दारी नभएको हो।

नयाँ दलहरू पुरानालाई हटाउने जोसमा छन्। तर जनता सोधिरहेका छन् : हटाएपछि के ? विकल्प के ? देश बनाउने रोडम्याप के ? परिवर्तन भन्नु केवल अनुहार फेर्ने कुरा होइन। परिवर्तन भन्नु नीति, सोच, प्रणाली र कार्यशैली बदल्ने कुरा हो।

यदि नयाँले पनि केवल
“पुरानालाई हटाऔँ” मात्र भन्यो भने त्यो परिवर्तन होइन, सत्ता साटफेर मात्रै हो।

जनतालाई चाहिएको परिवर्तन के हो ?

नेपाली जनतालाई चाहिएको परिवर्तन स्पष्ट छ :

  •  रोजगारी आफ्नै देशमा
  •  शिक्षा र स्वास्थ्यमा गुणस्तर
  •  भ्रष्टाचारमुक्त शासन
  •  कृषिमा आत्मनिर्भरता
  •  युवा पलायन रोक्ने नीति
  •  न्याय र सेवा प्रणालीमा सुधार
  •  गाउँमा विकास, शहरमा व्यवस्थापन

जनता अब भाषण होइन, परिणाम खोजिरहेका छन्।

नेताहरूले दिन खोजेको परिवर्तन के हो ?

नेताहरूले “परिवर्तन” भन्नु गर्छन्, तर व्यवहारमा सत्ता साझेदारी, मन्त्री पदको भागबण्डा, चुनावपछि गठबन्धनको खेल, कुर्सी बचाउने रणनीति यही चलिरहेको छ। जनताको परिवर्तन जीवनसँग जोडिएको छ, नेताहरूको परिवर्तन सत्ता केन्द्रित भएको छ।

नेपाल अगाडि बढ्न सक्छ, तर त्यसका लागि देशलाई चाहिन्छ

- स्पष्ट राष्ट्रिय एजेन्डा
-नीतिगत स्थायित्व
-उत्पादनमुखी अर्थतन्त्र
-युवालाई अवसर दिने नेतृत्व
- भ्रष्टाचारमाथि कठोर प्रहार
-संविधानको पूर्ण कार्यान्वयन

चुनाव केवल प्रतिस्पर्धा होइन, देशको भविष्य तय गर्ने मोड हो।

आजको सरकार जनताको समस्याभन्दा बढी गठबन्धनको समीकरण जोगाउन केन्द्रित देखिन्छ। महँगी नियन्त्रण, रोजगारी सिर्जना, सुशासनभन्दा दलहरू सत्ता बचाउने रणनीतिमा अल्झिएका छन्।

जनता प्रश्न गर्दैछन् : सरकार जनताको लागि हो कि दलको लागि ?

देश बनाउने एजेन्डा कसले बुझाउने ? आजको चुनावमा सबैभन्दा ठूलो खाँचो छ देश बनाउने सपना बोकेको स्पष्ट नेतृत्वको। पुराना दलले जनताको विश्वास गुमाइसकेका छन्, नयाँ दलले जनतालाई स्पष्ट विकल्प दिन सकेका छैनन्।

अब मतदाता सचेत हुनुपर्छ। भोट भावनामा होइन, एजेन्डा र क्षमता हेरेर दिनुपर्छ। नेपाललाई चाहिएको परिवर्तन नारा होइन, नयाँ सोच र परिणाम हो।

“पुराना हटाउने मात्र परिवर्तन होइन, नेपाल बनाउने योजना नै असली परिवर्तन हो अब जनताले नेता होइन, दृष्टि चुन्नुपर्छ।”

खबरपाटी
खबरपाटी