अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा

अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा

चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर धेरैको वस्तु तथा सेवा निर्यात गरेको छ । अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुगेको हो ।

अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

कुनै देशको कुल वस्तु र सेवा निर्यात त्यसको कुल आयातभन्दा बढी भएको अवस्थालाई अधिशेष भनिन्छ । यसलाई आर्थिक मजबुतीको सङ्केत मानिन्छ ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५ दशमलव ५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रहेको छ । सन् २०२४ मा चीनको व्यापार अधिशेष ९ खर्ब ९२ अर्ब डलर रहेको थियो । व्यापार युद्ध र भूराजनीतिक तनावका बाबजुद यस वर्ष निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै देशबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गएको वर्ष झन्डै २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा गिरावट धेरै हदसम्म सन्तुलनमा आएको खबरमा उल्लेख छ ।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप, विद्युतीय उपकरणतथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसका साथै गएको वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक झन्डै ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पुर्‍याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुहरूका कारण स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही देशहरूमा चेतावनी र चासो पनि बढेको छ ।

खबरपाटी
खबरपाटी