बालेन–रवि बीच भएको ७ बुँदे सहमतिमा के–के विषय समेटिएका छन्?

बालेन–रवि बीच भएको ७ बुँदे सहमतिमा के–के विषय समेटिएका छन्?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच ७ बुँदे सहमति भएको छ। सहमतिले दुवै नेताबीच भावी राजनीतिक सहकार्य र साझा दृष्टिकोणको संकेत दिएको छ।

सहमति अनुसार रवि लामिछाने पार्टी सभापतिको भूमिकामा रहने र बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने उल्लेख गरिएको छ। दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र पार्टीको चुनाव चिह्न घण्टी रहने सहमतिमा उल्लेख छ।

नवयुवा आन्दोलन तथा विभिन्न आन्दोलनका शहीद र घाइतेका मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने सहमति गरिएको छ। साथै आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य तय गरिएको छ।

योग्यता, क्षमता र समावेशिताका आधारमा संगठन विस्तार गर्ने, पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा समयमै अद्यावधिक गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

सहमतिको अन्तिम बुँदामा सुशासन, पारदर्शिता र सामाजिक न्यायका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

राजनीतिक वृत्तमा यो सहमतालाई नयाँ प्रकारको राजनीतिक ध्रुवीकरण र वैकल्पिक शक्तिको सम्भावित संकेतका रूपमा हेरिएको छ।

खबरपाटी
खबरपाटी