काठमाडौं – काठमाडौं महानगरपालिका नगर सभाको १८ औँ अधिवेशन पुस ११ गतेका लागि आव्हान भएको छ। आज(शुक्रबार) महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले नगर सभाको अधिवेशन मिति तोकेको हो।
बैठकमा प्रशासन, पूर्वाधार निर्माण, वातावरण, सूचना प्रविधि, अन्तरराष्ट्रिय सम्बन्ध, कानुन तथा मानव अधिकार, महानगर प्रहरी बल, राजस्व, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, सम्पदा तथा पर्यटन र सहकारी क्षेत्रका ३० वटा प्रस्ताव र विविधमा २ वटा विषयमाथि छलफल र निर्णय भए।
बैठकबाट निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई निकासा दिने, विद्यालय र हातको सौन्दर्य अभिवृद्धि गर्न विद्यालयहरूलाई अनुदान प्रदान गर्ने, नेपाल भाषाको पाठ्यक्रम स्वीकृत तथा पाठयपुस्तक संशोधन, १५ प्रतिशतदेखि २५ प्रतिशतसम्म भेरिएसन भएका विभिन्न पूर्वाधार योजनाहरूको अनुमोदन गर्ने लगायत निर्णय भएका छन्।