काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिक सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि सर्वसाधारण मारेमा परेका छन् । त्यसैले सडक विभाग र सडक डिभिजन कार्यालय भरतपुरले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिन लाग्ने विभागले बताएको छ । विभागका अनुसार त्रिभुवन राजपथ (नौबिसे–हेटौँडा), कान्ति राजमार्ग(सातदोबाटो–भैरब मन्दिर–बगुवा–लेनडाडा–हेटौँडा)को वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।
कालीगण्डकी कोरिडोरबाट छिरेर (गैंडाकोट–पाल्पा रामपुर–भिमाद–तनहु), धादिङ(फिर्केखोला–धादिङवेसी–सल्यानटार)–गोर्खा(आरुघाट–आबुखैरेनी) सडक प्रयोग गर्न सकिनेछ ।
बुटवल–पोखरा वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने विभागका प्रवक्ता प्रभात झाले जानकारी दिएका छन् ।