काठमाडौं – जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ।
बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो। ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो।
दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो। परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो।
दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भयो। १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो। योसँगै बिहीवारका लागि कारोबार बन्द भयो।
यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ। यो समूहको ९.३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको छ।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ। कुल करिब ४ मिनेट मात्रै कारोबार भयो।