काठमाडौं— साउनको पहिलो सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई रुद्राक्षसंघले निःशुल्क रुद्राक्षमाला र पानी वितरण गरेको छ। प्रत्येक वर्ष महाशिवरात्रि र साउनको पहिलो सोमबारको दिन श्री महादेवको व्रत बस्ने भक्तजनहरूलाई प्रसादस्वरूप मालाको वितरण गरिँदै आएको छ।
संघका केन्द्रीय अध्यक्ष मनोज कुमार चापागाईंले कार्यक्रमको उद्घाटन गर्नुहुँदै रुद्राक्षको धार्मिक, सांस्कृतिक र आर्थिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार नेपालमा हाल भोजपुर, संखुवासभा, धनकुटालगायत ४० भन्दा बढी जिल्लाहरूमा रुद्राक्ष उत्पादन हुने गरेको छ। नेपालबाट ३ देखि ४ अर्ब रुपैयाँ बराबरको रुद्राक्ष विदेशमा निर्यात हुने जानकारी पनि अध्यक्ष चापागाईंले दिनुभयो।
यस अवसरमा काठमाडौँ जिल्ला अध्यक्ष सुवोध श्रेष्ठले नेपालमै रुद्राक्षको प्रयोग बढ्दै गएको उल्लेख गर्दै, “अब खादा र मालाको सट्टा पवित्र रुद्राक्षकै प्रयोग गरिन थालिएको छ,” भन्नुभयो।
भोजपुर जिल्ला उपाध्यक्ष सुशन्त श्रेष्ठका अनुसार, यस वर्ष पशुपति मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूलाई ११ हजार १ सय १ वटा रुद्राक्षमाला वितरण गरिएको हो। कार्यक्रममा रुद्राक्ष व्यवसायीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
हिन्दू धर्म अनुसार रुद्राक्षलाई पवित्र, वैदिक र अलौकिक शक्तिले भरिएको मालाको रूपमा मानिन्छ, जुन आत्मिक शान्ति र आध्यात्मिक उन्नतिका लागि प्रयोग गरिन्छ।