काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी पारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ ।
समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
मैदानको पारापिट बनाउन बीकेओआई केसीडीसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।
पारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो । यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो ।
मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ। काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ । यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानूनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।
निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कार्यालयले जनाएको छ। अहिले चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइटमध्ये तीन वटा पोल आएको छ ।
पारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चौथो कार्यकाल प्रधानमन्त्री हुँदा गत वर्ष असार अन्तिममा पहिलो निर्णय नै तीन सय दिनभित्र उक्त मैदानमा पारापिट र फ्लड लाइट हार्ने निर्णय गरेका थिए ।
तीन सय दिनमात्र हैन ओली सरकारले एक वर्षे कार्यकाल पनि पूरा गरेको छ । तर पहिलो निर्णयको काम पनि पूरा गरेको छैन ।