चेपाङ बालबालिकाका लागि नेपाल ट्युबको शैक्षिक उपहार

चेपाङ बालबालिकाका लागि नेपाल ट्युबको शैक्षिक उपहार

काठमाडौं, असार ९- धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित कोश्राङ आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरूलाई नेपाल ट्युब अष्ट्रेलिया र एक्सन नेपालले शैक्षिक सामग्री वितरण गरेका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्रधानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा ५८ जना चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित सामग्री हस्तान्तरण गरिएको हो।

नेपाल ट्युबले आफ्ना सामाजिक सञ्जालमा २० लाखभन्दा बढी फलोअर्स पुगेको अवसरमा सुरु गरेको ‘लाखौंमा एक’ छात्रवृत्ति अभियानअन्तर्गत उक्त सामग्री सहयोग गरिएको हो।

विद्यार्थीहरूलाई एक/एक थान झोला, ३६ थान कापी, एक दर्जन पेन्सिल, एक थान क्याल्कुलेटर, ज्यामिती बक्स, रंगिन पेन्सिल, आर्ट कापी तथा दुई दर्जन सिसाकलम प्रदान गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमल ढुंगानाले जानकारी दिए।

विद्यालयमा हाल कक्षा ५ सम्म अध्ययन हुने र कुल ६३ विद्यार्थीमध्ये ५८ जना चेपाङ समुदायका रहेको प्रधानाध्यापक गिरीले बताए। यस सहयोगले उनीहरूको पठन–पाठनमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल ट्युबका प्रधान सम्पादक सरल गुरुङका अनुसार ‘लाखौंमा एक’ अभियान नेपाल ट्युबप्रति समर्पित दर्शकप्रतिको सम्मानको प्रतीक हो। 

नेपाल र विदेशमा रहेका नेपाली समुदायलाई सूचना, जानकारी र शिक्षामूलक सामग्री प्रवाह गर्दै आएको नेपाल ट्युबले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिँदै आएको छ।

सन् २०२३ मा टेक स्किल इन्स्टिच्युट अष्ट्रेलियासँगको सहकार्यमा ‘न्यु अबिलिटी’ छात्रवृत्तिमार्फत ८ जना नेपाली विद्यार्थीलाई ४० हजार अष्ट्रेलियन डलर बराबरको सहयोग गरिएको थियो।

त्यस्तै, सन् २०२४ मा हिमाल, पहाड र तराईका ६ जना क्रिकेटरलाई प्रोफेसनल क्रिकेट तालिमका लागि छात्रवृत्ति प्रदान गरिएको थियो।

नेपाल ट्युबले पछिल्लो वर्ष मात्रै विभिन्न परोपकारी कार्यमार्फत झण्डै ३ लाख अष्ट्रेलियन डलरको योगदान गरिसकेको जनाएको छ।

खबरपाटी
खबरपाटी