नारायणगढ-मुग्लिन सडक :बजेट अभावले बनेन भासिएको भाग

नारायणगढ-मुग्लिन सडक :बजेट अभावले बनेन भासिएको भाग

काठमाडौं । बजेट अभावका कारण नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा मर्मत नहुने भएको छ। उक्त क्षेत्रमा १६५ मिटर सडक भासिएको छ।

गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो। त्यहाँ ८५ मिटर लम्बाइ र ३।५ मिटर चौडाइको भाग ८ मिटर तलसम्म भासिएको छ। बाँकी भागमा चिरा परेको छ। डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले अब सबै भाग एकसाथ मर्मत गर्नुपर्ने बताए।

चालु आर्थिक वर्षमा बजेट सुनिश्चित नहुँदा काम अघि बढ्न सकेन। वर्षाले कालोपत्रमुनिको माटो बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो। लामिछानेले १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने बताए। 

सोहीअनुसार डिजाइन तयार गरी सडक विभागमा पेस गरिएको छ। गत माघमा डिजाइन तयार गरेर फागुनमा स्रोत सुनिश्चितताका लागि पेस गरिए पनि बहुवर्षे ठेक्काको बजेट विनियोजन गर्ने समय सकिएकाले यो वर्ष काम नहुने उनले बताए।

भासिएको भाग मर्मत गर्न ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ। हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथाम गरिएको छ। यो सडकबाट दैनिक १० हजारभन्दा बढी सवारीसाधन काठमाडौं र पोखरातर्फ चल्छन्।

खबरपाटी
खबरपाटी