काठमाडौं । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेसनमा शुक्रबार साँझ एक महिलाले चक्कु आक्रमण गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे भएको यो आक्रमणमा धेरै व्यक्ति गम्भीर घाइते भएका छन्।
ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको जनाएको छ। तर, प्रहरीले घाइतेको यकिन सङ्ख्या पुष्टि गर्न बाँकी छ। प्रहरीले तत्काल कारबाही गर्दै ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाट पक्राउ गरेको छ।
अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई भने, ‘१७ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।’ एक्समा पोस्ट गरिएको एक जानकारीअनुसार, ह्याम्बर्ग प्रहरीले धेरै व्यक्ति घाइते भएको र संदिग्धले एक्लै आक्रमण गरेको बताएको छ।
प्रहरीका अनुसार उनको कुनै ‘राजनीतिक उद्देश्य’ थिएन। प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले भने, ‘उनीहरूलाई लाग्छ कि उनी मानसिक रूपमा विचलित भएको हुन सक्छ।’ बीबीसी