लन्डनमा नेपालीको सपना चोरिएको कथा : ८० तोला सुन र आशाको लुटू

लन्डनमा नेपालीको सपना चोरिएको कथा : ८० तोला सुन र आशाको लुटू

लन्डन । लन्डनको हेय्स इलाकामा बसोबास गर्ने एक नेपाली परिवारको घरमा भएको डकैतीले परिवारलाई ठूलो आघात पुर्याएको छ। डकैतहरूले ८० तोला सुन, २००० पाउन्ड नगद र अन्य महत्त्वपूर्ण कागजातहरू चोरी गरेका छन्। यो घटना १८० उक्सब्रिज रोड, हेय्स, लन्डनमा भएको हो।

घटनाको समय घरमा दुई जना मात्र थिए। डकैतहरूले मात्र १५ मिनेटभित्र घरमा पसेर लकरसमेत लिएर गएका छन्। सीसीटिभी फुटेजअनुसार, तीन जना डकैतहरू कालो बिएमडब्ल्यु कारमा आएका थिए, जसको नम्बर प्लेटको आंशिक नम्बर ब्श् टज्ञ थियो। तर, प्रहरीले भन्छन् कि डकैतहरूले नम्बर प्लेट परिवर्तन गरेका थिए र अनुहार ढाकेका थिए।

घटनाको १० मिनेटपछि प्रहरी घटनास्थलमा पुगेको तथ्याङ्क छ। तर, परिवारका सदस्यहरूले प्रहरीले यस घटनालाई सामान्य मानेको र केही गर्न नसकेको बताएका छन्। डकैतहरूले फोरेन्सिक जाँचबाट बच्नका लागि औंला छाप मेटाउने पदार्थ प्रयोग गरेका थिए, जसले उनीहरू पेशेवर डकैत हुन सक्छन् भन्ने संकेत गर्छ।

परिवारकी बुहारीले भनिन्, “हाम्रा सबै महत्त्वपूर्ण कागजात र प्रमाणपत्रहरू चोरी भएका छन्। यहाँ यस्तो घटना धेरै हुने भएकाले प्रहरीले ध्यान दिँदैनन्। तर, हाम्रो नेपालमा यस्तो हुँदैन।” उनले बताइन् कि परिवारलाई यस घटनाले गहिरो मानसिक आघात पुगेको छ।

लन्डन महानगर प्रहरीले घटनाको प्रतिवेदन दर्ता गरेको र क्राइम रेफरेन्स नम्बर मात्र प्रदान गरेको छ। प्रहरीले फोरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको बताइएको छ।

यस घटनाले लन्डनमा बसोबास गर्ने नेपाली समुदायलाई चिन्तित बनाएको छ। समुदायका नेताहरूले प्रहरीबाट छिट्टै न्यायको माग गर्दै आएका छन्।
 

खबरपाटी
खबरपाटी