संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री भण्डारीले विद्युतीय व्यापार ९ई कमर्स० विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने पनि संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।
त्यसैगरी राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।