कांग्रेस/एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

कांग्रेस/एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस/एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’, प्रचण्डले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

दुईरदुई पटक संविधान मिचेर संसद् विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको टिप्पणी गरे ।

‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रूपमा अघि सारिएको थियो तर, अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’, प्रचण्डले भने, ‘यसबाट उनीहरू संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

विगतमा संसद् विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको प्रचण्डको दाबी छ । 

‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर, हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौं’, प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौं।’

खबरपाटी
खबरपाटी