काठमाडौं । हमासले आइतबार बन्धकमुक्त हुने तीन जनाको नाम इसराइललाई बुझाएको छ। योसँगै गजामा आजदेखि हुने भनिएको युद्धविराम कार्यान्वयनको नजिक पुगेको छ।
सम्झौता अनुसार आज बिहान ८ बजे हमासले तीन जना इसराइली बन्धक छाड्ने र इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने भनिएको थियो।
तर बिहान बितिसक्दा पनि हमासले बन्धकमुक्त हुनेहरूको सूची नपठाएको भनेर इसराइलले गजामा हवाई आक्रमणसमेत गरेको थियो।
आइतबारकै आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ।
आक्रमणपश्चात हमासले तीन जनाको सूची मध्यस्तकर्तामार्फत इसराइललाई पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ। हमासले पठाएको सूचीअनुसार इसराइली डिफेन्स फोर्स ९आइडिएफ०ले उनीहरूको परिवार खोजिरहेको पनि रोयटर्सले जनाएको छ।
आज बन्धकमुक्त हुनेहरू सबै इसराइली महिला छन्। उनीहरूको नाम रोमी गोनेन, डोरोन स्टीनब्रेचर र एमिली डमारी छन्। उनीहरूको बारेमा थप जानकारी सार्वजनिक भएको छैन।
आज तीन जना बन्धक रिहा गरेपछि हमासले एक सातापछि चार जना बन्धक रिहा गर्नेछ। त्यसपछि प्रत्येक सातामा हमासले बन्धक छाड्ने र इसराइलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने क्रम ६ सातासम्म चल्नेछ।
६ साताभित्र दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामबारे दुई पक्षसँग छलफल गर्नेछ।