काठमाडौं – अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको जनाएको हो ।
मंगलबार द फाइनल वर्ल्ड पोडकास्टले सार्वजनिक गरेको भिडियो सामग्री (एपीएसोड)मा उक्त खुलासा गरेको रोयटर्सले जनाएको हो । “म अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटमा भिक्टोरियबाट पनि सन्न्यासको घोषणा गर्नेछु । र, टेस्ट क्रिकेटबाट पनि पूर्ण रूपमा सन्न्यास लिनेछु । यो धेरै उपयुक्त समय जस्तो लाग्छ । यो समयमा करियरमा खेल्न बाँकी प्रतियोगिता खेल्न स्वथ्य हुन शारीरिक अवस्थामा ध्यान दिनुपर्नेछ,” म्याक्सवेलको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
उनले अस्ट्रेलियाको प्रादेशिक टिम भिक्टोरिबाट ५० ओभरको घरेलु क्रिकेट खेल्दै आएका थिए । उनले उक्त संरचनाबाट पनि सन्न्यास लिने घोषणा गरे । म्याक्सवेलले गत वर्ष इंग्ल्यान्डविरुद्धको श्रृंखला खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियबाट र गत फेब्रुअरीमा सम्पन्न टी–२० विश्वकपमा ओमानविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएका थिए ।
‘द बिग सो’ उपनाम पाएका उनले अस्ट्रेलियाको लागि टी–२० अन्तर्राष्ट्रियमा दुई हजार ८९७ रन र एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार ९९० रन जोडेका छन् ।
म्याक्सवेल टी–२० अन्तर्राष्ट्रियमा पाँच शतक प्रहार गर्नेमध्येका एक क्रिकेटर पनि हुन् । यो कीर्तिमान उनीसँगै भारतका पूर्वकप्तान रोहित शर्माको नाममा मात्र छ ।
उनले सन् २०१५ र २०२३ मा सम्पन्न एकदिवसीय विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी, सन् २०२१ मा अस्ट्रेलियाले टी–२० विश्वकप जित्दा उनको महत्त्वपूर्ण भूमिका थियो ।