रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने

रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार बिहान ११ बजेदेखि थालिने भएको छ ।

आइतबार बिहानदेखि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको छ । आइतबार नै थुनछेक बहस सुरु गर्ने भनिए पनि समयभावका कारण हुन सकेन । त्यहीकारण अब सोमबार बिहानदेखि थुनछेक बहस थालिने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए ।


‘भोलिबाट थुनछेक बहस हुने छ । कति दिनमा बहस सक्नेबारे पनि भोलि छलफल होला,’ चन्दले खबरहबलाई भने, ‘भोलि ११ बजेका लागि इजलास बोलाइएको छ । अब थुनछेक बहस नसकुञ्जेल रविलाई प्रहरीले नै लाने(ल्याउने जिम्मेवारी पाएको छ ।’

चन्दका अनुसार उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर हिरासतमा लगेको छ । काठमाडौं अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेसँग बयान लिइएको हो ।


जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

लामिछाने कास्की प्रहरी हिरासतबाट गत बिहीबार ८४ दिनपछि छुटेका थिए । त्यसपछि उनी आइतबार काठमाडौं अदालतमा हाजिर भएका हुन् । उनलाई परिवारको जिम्मामा छाड्न न्यायाधीशसँग आग्रह गरिएको थियो ।

तर न्यायाधीश अधिकारीको इजलासले उनलाई पुर्पक्षसम्बन्धी टुंगो नहुन्जेलसम्मलाई छाड्न अस्वीकार गरेको हो ।

खबरपाटी
खबरपाटी