सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा मंसिर २६ गते सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
सभाले कम्पनीले आफ्नो चुक्ता पुँजीको ७% का दरले हुन आउने रु ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने रु १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
कम्पनीको यो निर्णयसँगै सेयरधनीहरूले कुल १०% लाभांश पाउने भएका छन्। कम्पनीले वितरण गर्न लागेको बोनस सेयर र नगद लाभांशले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ।
साधारण सभामा कम्पनीका सञ्चालक, लगानीकर्ता, र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो। सभाले कम्पनीका आगामी योजनाहरूलाई थप सशक्त बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
सर्वाेत्तम सिमेन्ट लिमिटेड नेपालको सिमेन्ट उद्योगमा उच्च गुणस्तरीय उत्पादन र व्यवसायिक सुदृढताका लागि परिचित अग्रणी कम्पनी हो।