एलन मस्क कहिल्यै पनि अमेरिकाको राष्ट्रपति बन्न सक्दैनन् : डोनाल्ड ट्रम्प

एलन मस्क कहिल्यै पनि अमेरिकाको राष्ट्रपति बन्न सक्दैनन् : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क कहिल्यै पनि अमेरिकाको राष्ट्रपति बन्न नसक्ने बताएका छन्।

राष्ट्रपति चुनाव जितेपछि विपक्षी नेताहरूले सरकारमा राष्ट्रपतिको वास्तविक शक्ति एलोन मस्कसँग भएको आरोप लगाइरहेका बेला ट्रम्पले त्यसको खण्डन गरेका हुन्।

यसैबीच ट्रम्पले विपक्षीका सबै आरोपहरू अस्वीकार गर्दै एलोन मस्क कहिल्यै पनि अमेरिकी राष्ट्रपति बन्न नसक्ने बताएका हुन्।

ट्रम्पले आइतबार एरिजोनामा आयोजित एक कार्यक्रममा भने, ‘म तपाईलाई भन्न सक्छु कि मस्क राष्ट्रपति बन्ने छैनन्। उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो। उहाँ यो देशमा जन्मनुभएको होइन।’

ट्रम्पले मस्कको प्रशंसा गर्दै उनका राजनीतिक विपक्षीहरूले सरकारमा राष्ट्रपतिको वास्तविक शक्ति एलोन मस्कसँग हुनेछ भन्ने भ्रम र झुट फैलाइरहेको समेत बताए।

उनले थपे, ‘मस्क आधिकारिक रूपमा राष्ट्रपति बन्ने खतरा छैन, किनभने संविधानले उनलाई त्यसो गर्नबाट रोकेको छ।’

अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेका अमेरिकी नागरिक मात्रै देशको राष्ट्रपति बन्न सक्छन्।

एलोन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो। उनकी आमा क्यानडामा जन्मिएकी दक्षिण अफ्रिकी मोडेल हुन्, जो सन् १९६९ मिस साउथ अफ्रिका प्रतियोगितामा फाइनलिस्ट थिइन्।

उनका बुवा एरोल मस्क इन्जिनियर हुन्। उनको आमाबाबु सन् १९८० मा अलग भएका थिए।

खबरपाटी
खबरपाटी