भारतीय संसद्‌मा गान्धी परिवारका तीन सदस्य

भारतीय संसद्‌मा गान्धी परिवारका तीन सदस्य

काठमाडौँ। भारतमा गान्धी परिवारकी आमा र दुई सन्तान एकैसाथ सांसद भएका छन्। लोकसभा सदस्यमा हालै निर्वाचित प्रियंका गान्धीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि भारतीय संसद्मा तीनैजनाको प्रवेश भएको टाइम्स अफ इन्डियाले जनाएको छ। तीनैजना भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध छन्।

राहुल गान्धी र सोनिया गान्धी यसअघि नै सांसद सदस्य छन्। राहुल प्रियंकाका दाजु हुन् भने सोनिया आमा हुन्। प्रियंका आफ्नी आमा सोनिया गान्धीका साथ शपथ लिन संसद् भवन पुगेकी थिइन्। शपथ ग्रहण समारोहमा राहुल र प्रियंकाका पति रोबर्ट वाड्रा पनि सहभागी थिए।

प्रियंका गान्धीले पहिलोपटक चुनाव लडेकी हुन्। वायनाडमा भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले छोडेपछि सिट खाली भएको थियो। यसै वर्ष सम्पन्न लोकसभा चुनावमा राहुल गान्धीले रायबरेली र वायनाडबाट चुनाव लडेका थिए। उनी दुवै स्थानबाट निर्वाचित भएका थिए। त्यसपछि उनले वायनाडको सिट छोडेका थिए।

राहुल लोकसभामा विपक्षी दलका नेता हुन्। उनी रायबरेलीबाट लोकसभामा प्रतिनिधित्व गर्छन् भने सोनिया राजस्थानबाट राज्यसभामा प्रतिनिधित्व गर्छिन्। प्रियंका अब लोकसभामा आफ्ना दाजु राहुल गान्धीसँगै रहँदा अर्को इतिहास दोहोरिएको छ।

७१ वर्षअघि जवाहरलाल नेहरू र विजयलक्ष्मी पण्डित पहिलोपटक नेहरू(गान्धी परिवारका दाजुबहिनी सांसद थिए। त्यसपछि सोही परिवारको अर्को जोडी संसद्‌मा देखापरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रियंका गान्धी ५ वर्षअघि २०१९ को लोकसभा चुनावमा सक्रिय राजनीतिमा देखिएकी हुन्। त्यस बेला उनले चुनावमा भाग लिइनन्। त्यसपछि उनले कांग्रेस महासचिवका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी छन्।

खबरपाटी
खबरपाटी