मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

काठमाडौं । आज बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्ने सहमति बनेको छ ।

कार्यकारी निर्देशक लामिछानेका अनुसार मेलम्ची बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

खबरपाटी
खबरपाटी