३० महिनापछि तीनवटा नयाँ रियालिटी शो ल्याउँदै नोबडी प्रोडक्सन

३० महिनापछि तीनवटा नयाँ रियालिटी शो ल्याउँदै नोबडी प्रोडक्सन

काठमाडौं । नोबडी प्रोडक्सनले एकैपटक तीन वटा रियालिटी शो आयोजना गर्ने भएको छ । क्राइम पेट्रोल नेपालको पहिलो सिजन बनाएपछि सुस्ताएको उक्त संस्थाले करिव ३० महिनापछि तीनवटा रियालिटी शोहरूको घोषणा गरेको हो ।  

आइतबार एक कार्यक्रमको आयोजना गर्दै सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्स शो हुने भएको नोबडी प्रोडक्सनले जानकारी दिएको छ । को बन्छ करोडपति शोबाट यात्रा सुरु गरेको यो टिमले नेपाली दर्शकलाई रियालिटी शो नन् फिक्सन सिरीज लगायतका विविध क्षेत्रमा सधैं उच्चतम कन्टेन्ट दिँदै आएको छ । यसैको अर्को कडीका रूपमा तीनवटा नयाँ शो आयोजना हुने बताइएको छ ।

एक महिना अघिबाट डिजिटलल अडिसन सुरु गरिएको सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ अहिलेसम्म लगभग १२ हजार जनाले अडिसन भिडियो पठाइसकेको नोबडी प्रोडक्सनले जानकारी दिएको छ ।

उक्त शो सिजन १ सम्पन्न गरेपछि नोबडी प्रोडक्सनका अध्यक्ष विपिन आचार्य राजनीतितर्फ होमिएका थिए । जस पश्चात् सारेगमप लिटिल च्याम्पस निरन्तरता पाएको थिएन । यद्यपि अब भने रियालिटी शोमा कम ब्याक भएको आचार्यले जानकारी दिए । ‘राजनीति मेरो धर्म हो, रियालिटी शो मेरो कर्म भएकाले अब म यसमा सक्रिय भएर लाग्ने छु,’ उनले भने । 

सिजन २ को निर्णायकका रूपमा दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहनेछन् ।

कार्यक्रममा बोल्दै गायक स्वप्न सुमनले प्रतिस्पर्धीहरूको पर्फर्मेन्स हेर्नको लागि आतुर रहेको बताए । ‘यसपटक मेरो अनुभव छुट्टै हुँदैछ, अरू बेला गायक बनेर मात्र देखिने म यसपटक जज बन्न पाउनु मेरो लागि पनि अवसर हो,’ उनले भने । 

यस्तै, सुवानी मोक्तानले जज भएर सारेगमप लिटिल च्याम्पस सिजन २ मा आउँदा खुसी व्यक्त गरेकी छिन् । ‘अरू विषय नबुझे पनि संगित बुझेको छु, यो मेरो लागि अवसर पनि हो, यो शो दर्शकको नजरमा उत्कृष्ट हुने अपेक्षा राखेका छौं, सिजन २ दमदार हुने छ,’ उनले भनिन् । 

भारतमा लगभग २५ वर्षदेखि रियालीटी शोको टेलिभिजन रेटिङ पोइन्टमा सधैँ अग्रपंक्तिमा रहने यो शोको नेपालमा पनि आफ्नै फ्यान फलोईङ छ । यसको पहिलो सिजनलाई नेपाली दर्शकले अत्यधिक रुचाएका थिए र यसको दोस्रो संस्करणको एकदमै ठूलो प्रतीक्षा थियो । सो प्रतीक्षाको घडीलाई मेटाउँदै घटस्थापनाबाट सिजन २ को प्रसारण गर्ने तयारी गरिएको छ ।  

उक्त शो स्पेश फोकेबाट प्रसारण हुने आयोजक टिमले जानकारी दिएको छ ।  संगीतको बाह्रखरी ट्याग लाइनसहित घोषणा गरिएको अन्ताक्षरीको डिजिटल अडिसन पनि आगामी घटस्थापनाबाट खुल्ने बताइएको छ । 

साङ्गीतिक कार्यक्रम सारेगमप लिटिल च्याम्पस नेपाल र अन्ताक्षरी सँगसँगै दिमागको खेल बुझिने ब्रिलियन्ट ब्रेन्सको पनि यही समारोहमा घोषणा गरिएको छ । नेपालमा को बन्छ करोडपति, क्राइम पेट्रोल नेपालजस्ता रियालिटी शो मात्र होइन ग्यालेक्सी फोरकेको सम्पूर्ण क्रिएटिभ जर्नीलाई बिहाइन्ड द सिन बसेर नेतृत्व गरेका आचार्यले सिजन २ को आफैले होस्ट गर्नेछन् ।

खबरपाटी
खबरपाटी