काठमाडौं । भियतनामको राष्ट्रियसभाले आगामी अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।
कम्युनिस्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो, जसमा प्रधानमन्त्री र राष्ट्रियसभाको प्रमुख पनि समावेश रहेका छन् ।
‘राष्ट्रियसभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ति गर्नेछ,’ राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रियसभाको स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
ब्मखभचतष्कmभलत
भियतनामका कम्युनिस्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फू ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो ।
सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङले अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हालेका थिए ।
स्थिरता जोड दिने एकदलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो। तर ‘ब्लेजिङ फरनेश’ भनिने एउटा प्रमुख भ्रष्टाचारविरोधी निकायले हालका वर्षहरूमा देशका केही शीर्ष नेतासहित धेरै राजनीतिज्ञ र अधिकारीलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ ।
भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उनका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए ।