काठमाण्डौ – ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । यो जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाउँहरुको परिक्रमा गरिने परम्परा छ ।
झण्डै १५ घण्टाको यो यात्रा आज बिहान ४ बजे शुरु हुने भने पनि वर्षाका कारण प्रभावित भएर ५ बजे मात्र ललितपुर क्षेत्र नम्बर १ मा रहेको नकबहिलबाट शुरु भएको मतयाः सञ्चालन गर्ने मूलसमारोह समितिले जनाएको छ ।
ललितपरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्यर देवालयमा गई झण्डै २ हजार देवदेवतालाई परिक्रमा गर्ने यो यात्रामा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्लाः (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने गरिन्छ ।
राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा यो मतयाः अर्थात दीपयात्रा परम्परा थालेको बताइन्छ । यस पर्वमा विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने गर्दछ ।
यस यात्रामा अजिव भेषभूषा एवम् शैलीमा हाँस्य व्यङ्ग्यात्मक प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजासहित समूहहरुको सहभागिता पनि रहन्छ । यसमा धिमे, नायखिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदब, धाः, दम्वःखिं, नेकू, तिक्ली तथा पय्ताखिं लगायतका बाजा बजाउने गरिन्छ ।
जात्रा अन्तर्गत भोलि ६ गते बिहान ११ बजे भेला बुंगमतीमा नवबाजा बजाइनेछ भने पर्सि ७ गते बिहान ११ बजे नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउन जाने कार्यक्रम रहेको छ । आउँने ८ गते शनिवार दिउँसो १२ बजे नकबहिलमै भेला भइ गणेशपूजा यात्रा) गरिनेछ । सोही दिन साँझ ७ बजे पुरस्कार तथा सम्मान कार्यक्रमको साथमा पालो हस्तान्तरण र समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।