फेला पर्‍यो तीनकुनेमा चार जनाको हत्यामा प्रयोग भएको हतियार

फेला पर्‍यो तीनकुनेमा चार जनाको हत्यामा प्रयोग भएको हतियार

काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको घटनामा प्रयोग भएको हतियार फेला परेको छ।

शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित श्री दिव्य सस् मिल तथा काष्ठ उद्योगभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

उक्त सूचना प्राप्त भएपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धान क्रममा सुरूमा हत्यामा प्रयोग भएको हतियार फेला परेको थिएन।

शनिबार हतियार फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ बरामद गरेको छ।

दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीय नवीन राईको हत्या भएको हो।

उनीहरूको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।

ुशरीरमा धेरै ठाउँमा चोटपटक लाग्ने गरी हिर्काएको छ। प्रारम्भिक अनुसन्धानले राति केही समय घम्साघम्सी भएर हत्या भएको देखिएको छ,ु उनले भने।

चार जनाको हत्यामा एक जना व्यक्ति मात्रै संलग्न भएको हुनसक्ने पनि प्रहरीको प्रारम्भिक विश्लेषण छ।


ुघटनामा श्रीमान श्रीमती, वृद्धा र युवकको मृत्यु भएको छ। एकपछि अर्कोमाथि हतियार प्रहार भएको पनि हुनसक्छ। वृद्धाले प्रतिकार गर्न सक्ने सम्भावना न्यून छ। श्रीमानमाथि हानेर लडाएपछि श्रीमती वा युवकलाई हानेको हुनसक्छ,ु स्रोतले भन्यो।

प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरेको छ। त्यस्तै प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ। 

उक्त मिल दोलखा कालिञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो। उनीबाहेक अन्य केही व्यक्तिहरूमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

मृतक चारै जनाको शव पोस्टमर्टमका लागि महाराजगन्ज टिचिङ अस्पतालमा राखिएको छ।

खबरपाटी
खबरपाटी