इजरायलले युद्ध विरामको प्रस्ताव स्विकार्‍यो, हमासलाई पनि स्वीकार गर्न आग्रह

एजेन्सी

इजरायलले युद्ध विरामको प्रस्ताव स्विकार्‍यो, हमासलाई पनि स्वीकार गर्न आग्रह

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री  नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् । 

गाजामा युद्ध विरामको सम्झौतामा अवरोध बनेका विषयमा  समाधान गर्न अमेरिकाले पेस गरेको प्रस्तावलाई इजरायलले स्वीकारे गरेको ब्लिङ्केन जनाएका छन् । हमासलाई पनि प्रस्ताव स्वीकार गर्न अमेरिकाले आग्रह गरेको छ । 

एक दिनभरि इजरायली अधिकारीहरूसँग छलफल र वार्तापछि ब्लिङ्केनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा इजरायल जस्तै प्रस्ताव स्वीकार गर्न हमाससँग अनुरोध गरे ।  

त्यतिबेला ब्लिङ्केनले नेतन्याहुसँग पनि अढाई घण्टा  जति भेटवार्ता पनि गरेका थिए । यो प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट भएको र सम्झौताका लागि यो अन्तिम अवसर हुन सक्ने ब्लिङ्केनले बताएका छन् । 

गएको हप्ता कतारमा युद्ध विराम र बन्दीहरूलाई रिहा गर्नेबारे भएको वार्ता निस्कर्षवीहीन सकिएको थियो । तर इजरायल र हमासबिचको मतभेद पुर्ने अमेरिकी प्रस्तावका आधारमा यो हप्ता वार्ता सुचारु हुने आशा गरिएको छ ।

खबरपाटी
खबरपाटी