काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका कमीकमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उनले मध्यरातमा हस्ताक्षर गर्ने कुराले भने नियतमाथि शंका गर्नुपर्ने स्वाभाविक हुने धारणा राखे ।अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरूलाई दलका नेताहरूले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले बहुदलीय प्रतिष्पर्धासहितको समाजवादबाटै मुलुकको विकास र समृद्ध सम्भव रहेको बताए ।
अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यकता रहेको धारणा राखे । नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उनको भनाइ छ ।