काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् । आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदा कसरी नेतृत्वविरोधी भएँ ? भनि उनले प्रश्न पनि गरे ।
पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए । सोही कार्यक्रममा उनले प्रचण्डलाई ‘तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्वविरोधी कुरा गरेको आरोप लगाउने काम गरेको’ भन्दै आक्रोश व्यक्त गरे ।
प्रचण्डतिर फर्कंदै उनले ‘तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको’ बताए । पार्टीलाई समाप्त हुन नदिन प्रचण्डलाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको शर्माको स्पष्टीकरण थियो ।
माओवादी केन्द्र विभाजन गर्न खोजेको आफूमाथि आरोप पार्टी हेडक्वाटरबाटै लगाइएको उनले जिकिर गरे । अध्यक्ष प्रचण्ड आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने उनले माग गरे ।पमहासचिव शर्माले आफूमाथि पार्टीभित्रैबाट मनोगत रूपमा विभिन्न आरोप लगाइने गरेको बताए । आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको उनको भनाइ थियो ।