काठमाडौं । प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९टीआरसी० तेस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन्। प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो। विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो।
त्यस्तै बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गरेका थिए। सभापति सिंहले कतिपय विकासका आयोजनाहरू राजनीतिक उपजका सिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए। उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरूको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिदाँसम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजनीतिक हस्तक्षेप हुनुलगायत यावत् समस्या रहेका जानकारी गराए।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गरे। बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरूको नाम हेरफेर भएको जानकारी गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक साउन ३० गते दिउँसो १ बजे बस्नेछ।